नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारीअनुसार, सभापतिको नतिजा आएपछि मात्रै अन्य पदका लागि खसेको मतपत्रको गणना सुरु गरिनेछ। सभापतिबाहेकका मतपत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिनेछ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। निर्धारित समयभन्दा एक घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भए पनि साँझ ७ बजेसम्मका लागि समय थप गरिएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार, मतपत्र छाप्न ढिलाइ र प्राविधिक तयारी पूरा नहुँदा बिहीबारका लागि तय भएको मतदान रोकिएको थियो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्। सभापति पदका लागि गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरबीच प्रतिस्पर्धा हुँदैछ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। मतदानका लागि काठमाडौंको खुलामञ्च र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै व्यवस्था मिलाइएको छ।
कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ। मधेश प्रदेशका लागि तराई–मधेस हलमा मतदान केन्द्र तोकिएको छ।
