नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारहरूको दाबी-विरोध गर्ने समय आज दिउँसो २ बजेसम्मका लागि थपिएको छ।
निर्वाचन समितिले यसअघि मध्याह्न १२ बजेसम्म तोकेको समय वर्षाका कारण प्रभावित भएपछि बढाएको हो। यस अवधिमा उम्मेदवारहरूले आफ्नो मनोनयन फिर्ता, उम्मेदवारी सच्याउने वा प्रकाशित नामावलीमा नाम छुटेको भए सोको दाबी गर्न पाउनेछन्।
समितिले आज बिहानै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। उक्त नामावलीअनुसार विभिन्न पदमा कुल ८०९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीनजनाको उम्मेदवारी परेको छ।
महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत चार वटा प्रतिवेदन पारित गर्ने कार्यक्रम समेत वर्षाले प्रभावित भएको छ। निर्वाचनस्थल र बन्द सत्रस्थलमा भएका ७,११४ महाधिवेशन प्रतिनिधिहरू वर्षाका कारण तितरबितर भएका थिए। केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारीको संख्या १४ बाट बढाएर २४ पुर्याइएको छ।
दाबी-विरोध र उम्मेदवारी फिर्ताको समय सकिएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ।
