भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ।
भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा मंगलबार (अक्टोबर ६, २०२६) पठाएको हो। दलेलासँग तीन दशकभन्दा बढी कूटनीतिक सेवाको अनुभव छ।
दलेला हाल भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा कार्यरत छन्। उनले यो पद सेप्टेम्बर १, २०२५ मा सम्हालेका थिए। यसअघि उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतको राजदूत थिए।
नेपालका लागि पूर्व भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अक्टोबर १, २०२६ मा स्वदेश फर्किएपछि यो पद रिक्त भएको थियो। हाल काठमाडौंस्थित भारतीय दूतावासमा डेपुटी चिफ अफ मिसन राकेश पाण्डेले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेका छन्।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। त्यसयता उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी.सी.स्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन्।
उनले नयाँ दिल्लीमा महत्त्वपूर्ण जिम्मेवारीहरू पनि सम्हालेका थिए। दलेलाले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्रीको कार्यालयमा निर्देशकको भूमिका निर्वाह गरेका थिए। उनले सन् २००६ देखि २००७ सम्म निर्देशक (उत्तर) र सन् २०१६ देखि २०१९ सम्म सह-सचिव (उत्तर) को रूपमा विदेश मन्त्रालयमा काम गर्दा नेपाल र भुटानसँग भारतको सम्बन्ध हेरेका थिए।
नेपालको परराष्ट्र मन्त्रालयका एक उच्च स्रोतले Nmkhabarलाई भारतले सुधाकर दलेलाको नाम पठाएको पुष्टि गरेको छ।
नेपाल सरकारले दलेलाको एग्रिमो स्वीकृत गरेपछि मात्र भारतले उनलाई औपचारिक रूपमा राजदूतमा नियुक्त गर्नेछ। एग्रिमो स्वीकृतिको समय भने अझै खुलेको छैन।
