नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र वर्षाले प्रभावित भएको छ।
आज (असोज २१, २०८३, बुधबार) बिहान साढे ११ बजेदेखि सुरु गर्ने तयारी गरिएको बन्द सत्र हावाहुरीसहितको ठूलो वर्षाका कारण रोकिएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चमा आउन नसकेको बताए।
बन्द सत्रमा सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। यी प्रतिवेदनमाथि सोमबार (असोज १९, २०८३) देखि महाधिवेशन प्रतिनिधिहरूले आफ्नो धारणा राखिरहेका छन्।
महाधिवेशनमा करिब ७ हजार ५ सयदेखि ७ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी छन्। प्रतिवेदनमाथिको छलफललाई प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिएको छ।
प्रवक्ता चालिसेका अनुसार बन्द सत्रमा सबैलाई प्रवेश खुला गरिएको छ र यसको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट तथा अन्य मिडियाहरूले पनि गर्न पाउनेछन्। निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा निर्वाचनको काम गरिरहेको छ भने भृकुटीमण्डपमा खाना स्थल तोकिएको छ।
मतदान भोलि (असोज २२, २०८३, बिहीबार) बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ। कोशी, मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्च मतदान केन्द्र तोकिएको छ।
वर्षाका कारण प्रभावित बन्द सत्र कहिले पुनः सुरु हुनेछ भन्ने स्पष्ट समय तोकिएको छैन। प्रस्तुत गरिएका प्रस्ताव तथा प्रतिवेदनहरूमाथि छलफल सम्पन्न भई पारित भए/नभएको बारे हालसम्म जानकारी प्राप्त भएको छैन।
