नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठ र महामन्त्री गुरुराज घिमिरेका प्रतिवेदन पारित भएका छन्।
काठमाडौंमा जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रले बुधबार यी दुई प्रतिवेदन पारित गरेको हो। असोज १९ गतेदेखि सुरु भएको बन्दसत्रमा प्रतिनिधिहरूले प्रतिवेदनमाथि छलफल गरेका थिए।
कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले पार्टी सञ्चालनमा कठिनाइ भएको र सदस्यता दस्तुर बढाउने प्रस्ताव गरेका छन्। महामन्त्री घिमिरेले भने पार्टीलाई बलियो र लोकप्रिय बनाउने नीति तथा कार्यक्रम समेटेर सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन र उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पनि पेस गरेका थिए। महाधिवेशनमा कुल ७ हजार ११४ प्रतिनिधि सहभागी छन्। छलफललाई प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिएको थियो।
प्रतिवेदन पारित भएसँगै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुलेको छ। महाधिवेशन अन्तर्गत असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने कार्यतालिका छ। आज उम्मेदवार मनोनयन फारम वितरण र दर्ताको कार्यक्रम तय गरिएको छ। यस महाधिवेशनबाट २९७ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।
