नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
थापाले २०८३ असोज २० गते मंगलबार साँझ ६ बजेर ५ मिनेटमा काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएका हुन्। यस महाधिवेशनमा ७,११४ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
थापासँगै किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको १५औँ महाधिवेशन असोज १८ गते आइतबारदेखि काठमाडौंमा जारी छ।
संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय र पदाधिकारीको संख्या १४ बाट बढाएर २६ पुर्याइएको छ। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिमा दलित, मधेसी लगायतका जातीय क्लस्टरहरूको उपस्थिति सुनिश्चित गर्ने बताएका छन्। नेपाली कांग्रेसको संशोधित विधानमा मधेसी समुदायका लागि केन्द्रीय कार्यसमितिमा १३ जना सदस्य (५ महिलासहित) र एक सहमहामन्त्री पद आरक्षित गरिएको छ।
उम्मेदवारी फिर्ता लिने र सच्याउने निवेदन दिने समय असोज २१ गते बुधबार बिहान ९ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली सोही दिन बिहान १० बजे प्रकाशन गरिनेछ। नयाँ नेतृत्वका लागि मतदान असोज २२ गते बिहीबार बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। मतदान राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, खुलामञ्च र प्रज्ञा भवनमा तोकिएका केन्द्रहरूमा हुने निर्वाचन समितिले जनाएको छ।
