मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लालैया नदीको बाढीले मौलापुर तटबन्ध कटान: आधा दर्जन गाउँ डुबानको जोखिममा

रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरमा लालबकैया नदीको बाढीले तटबन्ध कटान तीव्र पारेको छ। तटबन्ध भत्किए आधा दर्जन गाउँ डुबानमा पर्नुका साथै कृषि बालीमा क्षति पुग्ने जोखिम छ। प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जोखिम क्षेत्रको अनुगमन गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेको छ।
Kamala Devi
Kamala Devi
27 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
लाल बकैया नदी कटान
Share:

रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरमा लालबकैया नदीको बाढीले तटबन्धमा कटान तीव्र बनाएको छ। अविरल वर्षाले नदीको बहाव बढेसँगै तटबन्ध भत्कने र बस्ती तथा खेतीयोग्य जमिनमा बाढी पस्ने जोखिम बढेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजाल र मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साह सम्मिलित टोलीले जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीयलाई आश्वस्त पारेका छन्। पौडेलले मर्यादपुरको तटबन्ध भत्किए मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहितका बस्ती प्रभावित हुने भन्दै सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई जोखिम क्षेत्रमा परिचालन गरी तटबन्धको अवस्था र नदीको बहावको निरन्तर अनुगमन गर्न निर्देशन दिएका छन्। वर्षाको समयमा सचेत र सजग रहन उनले स्थानीयलाई अनुरोध गरेका छन्।

फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्धमा पनि कटान भएको छ। त्यसबाट सदरमुकाम गौरसम्मका क्षेत्र प्रभावित हुनसक्ने भन्दै सजकता अपनाउन अनुरोध गरिएको छ।

निजगढस्थित लालबकैया नदीमा बिहान ४:२६ बजे जलस्तर १६२ सेन्टिमिटर मापन भएको थियो। १.५ मिटरलाई चेतावनी तह र २.५ मिटरलाई खतराको तह मानिन्छ। मौलापुर क्षेत्र निजगढभन्दा केही होचो भूभागमा रहेकाले माथिल्लो क्षेत्रमा पानीको बहाव बढे तल्लो तटीय बस्तीमा असर पर्न सक्ने स्थानीयको चिन्ता छ।

मर्यादपुरमा तटबन्ध कटान भए आधा दर्जन गाउँ डुबानमा पर्नुका साथै धानलगायतका कृषि बालीमा क्षति पुग्ने जोखिम छ। वर्षा जारी रहे नदीको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त तटबन्धको तत्काल निरीक्षण, कटान रोकथाम र आवश्यक सुरक्षात्मक सामग्रीको व्यवस्था गर्नुपर्ने देखिएको छ। स्थानीय तह र सुरक्षा निकायले नदीको जलस्तर तथा तटबन्धको अवस्था निरन्तर अनुगमन गर्दै जोखिम बढेमा स्थानीयलाई समयमै सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्ने अवस्था छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार