अपडेट (15:18, 2026-10-03)
एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हराउँदै स्वर्ण पदक जितेको छ। जापानको निशिनस्थित कोरोजी स्पोर्ट्स पार्कमा शनिबार भएको खेलमा भारतले लगातार दोस्रोपटक यो उपाधि हात पारेको हो। यस जितसँगै पाकिस्तानले रजत पदकमा चित्त बुझाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए भने तिलक वर्मा अविजित ५१ रनमा रहे। कप्तान श्रेयस अय्यरले २१ र शिवम दुबेले २७ रनको योगदान दिएको अनलाइन खबरले जनाएको छ।
२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो। पाकिस्तानका हसन नवाजले सर्वाधिक ९६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। भारतका अक्षर पटेल, वासिङटन सुन्दर र शिवम दुबेले २-२ विकेट लिएको जनाइएको छ।
यसैबीच, आज बिहान भएको कांस्य पदकको प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कांस्य पदक जितेको छ। नेपाल भने क्वार्टरफाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि प्रतियोगिताबाट बाहिरिएको थियो।
एसियाली खेलकुदको क्रिकेट फाइनलमा भारत र पाकिस्तानबीचको खेलमा कप्तानहरूले हात मिलाएनन्।
जापानको निसिनस्थित कोरोजी स्पोर्ट्स पार्कमा शनिबार बिहान १०:३० बजे सुरु भएको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत र पाकिस्तान पहिलोपटक फाइनलमा भिडेका हुन्।
भारतीय कप्तान श्रेयस अय्यर र पाकिस्तानी कप्तान साहिबजादा फरहानले टसका क्रममा एकअर्कासँग हात नमिलाएका हुन्। भारतले सेमिफाइनलमा श्रीलंकालाई १२४ रनले पराजित गरी फाइनलमा स्थान बनाएको थियो। पाकिस्तानले भने वर्षाले प्रभावित १३ ओभरको खेलमा बंगलादेशलाई ६ विकेटले हराएर फाइनलमा प्रवेश गरेको हो।
भारतीय पुरुष तथा महिला क्रिकेट टोलीले गत वर्ष अप्रिलमा पहलगाममा भएको आक्रमणपछि पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने नीति अपनाउँदै आएका छन्। यसअघि भारतीय हक्की टोलीले भने एसियाली खेलकुदमा पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएको थियो।
दुवै टोलीका कप्तानले हात नमिलाउनुको आधिकारिक कारण आयोजक वा टोलीहरूले स्पष्ट पारेका छैनन्। यदि फाइनल खेल वर्षाका कारण रद्द भएमा सुपर ओभर खेलाइनेछ, अन्यथा संयुक्त रूपमा स्वर्ण पदक प्रदान गरिनेछ।
