उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि बारा क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दन कुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको छ। गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा यो मुद्दा दर्ता भएको हो।
देवताल गाउँपालिका–५ बस्ने ३१ वर्षीय गनपत कुमार महतोले सांसद सिंहसहित १४ जनाविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा सांसद सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख छ। महतोले आफूलाई समाजमा भएका गलत गतिविधिहरूको विरोध गरेकै कारण कार्तिक २७, २०८१ मा सांसद सिंह र अन्य व्यक्तिहरूले सामाजिक बहिष्कार गर्ने निर्णय गरेको दाबी गरेका छन्।
जाहेरीमा महतोले आफूलाई अपमानित गर्ने, चरित्र र व्यक्तित्वमा आँच आउने गरी प्रचार–प्रसार गर्ने, विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन नदिने र सार्वजनिक स्थान तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न लगाउने जस्ता आरोप लगाएका छन्। उनले गाउँघरमा आफूविरुद्ध विभिन्न किसिमका कुरा प्रचार–प्रसार गरिएको पनि उल्लेख गरेका छन्।
महतोले विपक्षीहरूले गाउँमा विकाससम्बन्धी काम गर्न अवरोध गरेको र आफूले त्यस्ता अवरोधका बाबजुद विकाससम्बन्धी काम गराउन पहल गरेपछि आफूलाई समाजबाट बहिष्कार गर्ने निर्णय गरेको आरोप लगाएका छन्। उनले आफूलाई ‘ठूलोबडा’ बन्ने व्यक्ति भन्दै दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका मानिसलाई पैसा तथा अन्य प्रलोभन दिएर आफ्नो विरोधमा प्रयोग गरेको दाबी गरेका छन्।
जाहेरीकर्ता महतोले पालिकामा उजुरी गर्दा आफू करार सेवामा कार्यरत सुपरभाइजर पदबाट ७ दिन निलम्बनमा परेको पनि बताएका छन्। यसअघि पनि यो मुद्दा दर्ता गराउने प्रयास भए पनि सफल नभएको बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।
एसपी कुँवरका अनुसार, उच्च अदालतको परमादेशमा मुद्दा दर्ता भए पनि हाल अनुसन्धान भइरहेको छ र सांसद सिंहविरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन। जाहेरीमा घटनासँग सम्बन्धित प्रमाणका रूपमा विपक्षीहरूले गरेका निर्णयको फोटोकपीसमेत संलग्न रहेको र उजुरीकर्ताले अनुसन्धानका क्रममा बोलाइए उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।
सांसद चन्दन कुमार सिंहको राजनीतिक पृष्ठभूमि हेर्दा उनी २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। जसपा नेपाल र लोसपाबीच एकीकरण भएपछि उनी चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
यस मुद्दामा अनुसन्धान जारी छ। सांसद सिंहको यस आरोपबारे आधिकारिक प्रतिक्रिया भने अझै सार्वजनिक भएको छैन। जाहेरीकर्ता गनपत कुमार महतो स्वयं अनलाइनखबरका जनकपुर संवाददाता हुन्।
