सप्तरीको सप्तकोसी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–७ की विमलाकुमारी सदाले तीन दिनदेखि घरमा पानी पसेपछि खाद्यान्न, लत्ताकपडा र दाउरासमेत निकाल्न नसक्दा खाना पकाउन समस्या भएको बताइन्।
“दुई साना नातिनातिनासहित आठ जनाको परिवार छौँ,” उनले भनिन्, “शनिबार रातिदेखि नगरपालिकाले बिहान बेलुकी खाना खुवाउन थालेको छ।” बस्न, नुहाउन र लुगा धुनसमेत समस्या भएको उनको गुनासो छ।
सदाले आफूहरूको परिवार यहाँ बसेको चौथो पुस्ता भइसकेको र यो समस्या चार पुस्तादेखि भोग्दै आएको बताइन्। “प्रत्येक वर्ष वर्षायाममा बाढीले यसरी नै घर डुबाएर सखाप पार्छ। पानी सुकेपछि शून्यबाट सुरु गर्दागर्दै अर्को वर्ष फेरि यस्तै अवस्था आउँछ,” उनले भनिन्। “हामी यहाँ बस्ने सबैको सम्पत्तिका नाममा केही छैन। विकल्प नभएपछि ठाउँ छोड्नसक्ने अवस्था छैन। सरकारले हामीलाई बसोबासका लागि विकल्प दिनुपर्यो।”
स्थानीय २५ वर्षीया आरतीदेवी सदाले चार सन्तानसहित सोही ठाउँमा बस्दै आएकी छिन्। श्रीमान् भारतमा मजदुरी गर्न गएकाले बाढीका बेला एक्लै सन्तानको रेखदेख गर्नुपर्दा थप समस्या भएको उनले बताइन्। घरमा भएको खाट पनि निकाल्न नसकेको उनको भनाइ छ।
“त्रिपाल टाँगेर कसरी बस्नु? दुई छाक खान पाएका छौँ। कतैबाट आएको राहत पनि राख्ने ठाउँको व्यवस्थापन गर्न सकेकी छैन,” उनले भनिन्।
स्थानीय ३० वर्षीया बौकी देवी सदाले खानेपानीको सबैभन्दा बढी समस्या रहेको बताइन्। “पानीमा डुबेको चापाकलको पानी पिउनुपर्ने बाध्यता छ,” उनले भनिन्।
हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले गोबरगाढा टापुको १५० परिवारसहित पालिकाको ५०० भन्दाबढी परिवार विस्थापित भएको जानकारी दिए। “गोबरगाढा बस्तीका बढी प्रभावित परिवारलाई पश्चिमी भागमा टेन्टमा र कोसी तटीय क्षेत्रका परिवारलाई तत्काल टेन्टमा सारिएको छ,” उनले भने।
पालिकाको वडा नं ७ र ५ का १५४ परिवारका घरमा खाना पकाउने अवस्था नभएपछि पालिकाले शनिबारदेखि दुई छाक खाना खुवाउने व्यवस्था मिलाएको उनले बताए।
यस्तै, कोसीको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाका ४, ५ र ११ वडाका २७ घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष अरूणकुमार मण्डलले बताए।
