इजरायली प्राध्यापकमाथि सयौँ अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीको सामूहिक हत्या तथा विस्थापनको योजना बनाएको आरोपमा अभियोग दायर भएको छ।
इजरायलका सरकारी वकिलको कार्यालयले सोमबार, २०८३ आश्विन १९ गते तेल अभिभनजिकै रहेको बार–इलान विश्वविद्यालयका गणितका प्राध्यापकविरुद्ध यो अभियोग दायर गरेको हो। पेताह तिक्भा निवासी ६० वर्षको उमेर समूहका ती प्राध्यापकको पहिचान अदालतको आदेशका कारण गोप्य राखिएको छ। उनलाई दुई साताअघि पक्राउ गरिएको थियो।
अभियोगपत्रअनुसार प्राध्यापकले विगत तीन वर्षमा राष्ट्रवादी विचारधाराबाट प्रेरित भई ‘एआइटी’ नामक योजना तयार पारेका थिए। यो हिब्रु भाषाको एउटा वाक्यांशको संक्षिप्त रूप हो, जसको अर्थ ‘जनताले विस्थापित गर्नेछन्’ भन्ने हुन्छ। योजनाको मुख्य उद्देश्य इजरायलका अरब नागरिकलाई जबर्जस्ती सामूहिक रूपमा विस्थापित गर्नु थियो। उनलाई आतङ्कवादी कार्यको तयारी, धम्की दिएर जबर्जस्ती असुली र न्यायिक प्रक्रियामा अवरोध पुर्याएको आरोप लगाइएको छ।
इजरायली सरकारी वकिलले मुद्दाको फैसला नभएसम्म आरोपित प्राध्यापकलाई हिरासतमा राख्न अदालतसमक्ष माग गरेका छन्। बार–इलान विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ र आरोपित प्राध्यापकलाई तत्काल निलम्बन गर्ने जनाएको छ।
आरोपित प्राध्यापकको विस्तृत पहिचान र उनको ‘राष्ट्रवादी विचारधारा’ को थप विवरण अदालतको आदेशका कारण अझै अपुष्ट छ। यस मुद्दामा आगामी सुनुवाइको मिति वा थप कानुनी प्रक्रियाबारे तत्काल कुनै जानकारी उपलब्ध छैन।
