अपडेट (15:42, 2026-10-03)
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा भएको बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ। यसअघि एक जनाको पहिचान खुल्न बाँकी रहेकोमा अहिले सबै मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ। मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय बस चालक सुरेश बिसी पनि रहेका छन्।
प्रहरीका अनुसार, यसअघि जाजरकोट भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री भनिएकोमा अहिले उनको नाम निर्जुङ गुरुङ रहेको पुष्टि भएको छ। बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको पनि सनाखत भएको छ।
घाइते १२ जनामध्ये आठ जनालाई मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। बाँकी चार जना घाइतेको भने मध्यबिन्दु प्रादेशिक अस्पतालमै उपचार भइरहेको अस्पतालले जनाएको छ। यसअघि गम्भीर अवस्थामा रहेका भनिएका बाँकेका अस्लाम भगवानलाई चितवनस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले बताएको छ।
अपडेट (11:02, 2026-10-03)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या बढेको छ। यसअघि ९ जना घाइते भनिएकोमा अहिले १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले पुष्टि गरेको छ।
दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ। यसअघि एक जना मृतकको मात्र पहिचान खुलेको भनिएकोमा अहिले जाजरकोट भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको सनाखत भएको प्रहरीले जनाएको छ। एक जना अन्दाजी ४०/४२ वर्षीय पुरुषको भने पहिचान खुल्न बाँकी रहेको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ। अन्य घाइतेको उपचार मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले जानकारी दिएका छन्।
अपडेट (08:57, 2026-10-03)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या प्रहरीले अद्यावधिक गरेको छ। यसअघि १० जना घाइते भनिएकोमा अहिले ९ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको मध्यविन्दु प्रादेशिक अस्पतालले जनाएको छ।
यसअघि एक जना मृतकको पहिचान खुलेको भनिए पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डित र सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार मृतकहरूको सनाखत भइसकेको छैन। प्रहरीले मृतकहरूको पहिचान गर्ने कार्य जारी रहेको बताएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहले मौसमजन्य खतरा अझै नटरेको र जोखिम कायमै रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। उनले यस्ता दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान बिनयी त्रिवेणी गाउँपालिका-०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन्। बसमा चालकसहित १८ जना सवार थिए।
प्रहरीका अनुसार, चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा खसेको थियो। मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–०३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको विवरण खुल्न बाँकी छ।
घाइते १० जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ। घाइते हुनेहरूको विवरण निम्नानुसार छ:
- जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने ३० वर्षीय हरिशरण थापा
- जिल्ला अछाम, मंगलसेन न.पा. ६ बस्ने २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी
- जिल्ला बर्दिया, ठाकुरबाबा न.पा. १ बस्ने २० वर्षीया आकृती
- जिल्ला बाजुरा, स्वामी कात्तिक गा.पा. ५ बस्ने ३२ वर्षीय पवन बुढा
- जिल्ला बर्दिया, राजापुर न.पा. ९ बस्ने २८ वर्षीय सञ्जय थारु
- जिल्ला बाजुरा, स्वामी कात्तिक गा.पा.१ बस्ने २५ वर्षीय प्रेम बम
- जिल्ला ललितपुर, कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने २९ वर्षीय अनोज खत्री
- जिल्ला बर्दिया, बाँसगढी न.पा. ७ बस्ने ३६ वर्षीय लाल बहादुर कार्की
- जिल्ला बाँके, नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने ४८ वर्षीय अस्लाम भगवान
- जिल्ला सल्यान, वनगढ कुपिण्डे न.पा. १ बस्ने २१ वर्षीय अनिल बुढाथोकी
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृत्यु भएका अन्य पाँच जनाको पूर्ण विवरण र चालकले नियन्त्रण गुमाउनुको खास कारण अझै स्पष्ट भइसकेको छैन। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
