मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बागलुङमा पहिरोको वितण्डा: १० को मृत्यु, एक बेपत्ता; तनहुँमा २४ घरमा क्षति

बागलुङमा पहिरोले १० जनाको ज्यान लिएको छ, एक बेपत्ता छन्। तनहुँका २४ घरमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
Kamala Devi
Kamala Devi
28 September 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
पहिरो बागलुङ तनहुँ
Share:

बागलुङमा अविरल वर्षासँगै आएको पहिरोले पछिल्लो दुई दिनमा १० जनाको ज्यान लिएको छ। एक जना बेपत्ता छन्। यसैगरी, तनहुँका २४ घरमा पहिरो र बाढीले क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार तमानखोला र निसीखोला गाउँपालिकामा पहिरोका कारण ९ जनाको मृत्यु भएको थियो। एक जना बेपत्ता भएका थिए। शनिबार ताराखोलामा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भयो। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ। तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भयो। हस्तवीरकी श्रीमती पहिरोमा बेपत्ता छिन्।

नیسیखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान छन्। निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भयो।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पूर्वसूचनाले थप क्षति रोकेको बताए। प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

तनहुँमा लगातारको वर्षाले व्यास नगरपालिकामा ५, म्याग्देमा २, घिरिङमा ६, ऋषिङमा २, बन्दीपुरमा ४ र भानु नगरपालिकामा ५ गरी २४ घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पीडित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको जानकारी दिए।

पहिरोले व्यास–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ। भिमाद–६ मालेबगरमा कुखुराफार्म र बंगुरको खोर बगाएको छ। देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकीको बाढीले शौचालय, बाथरुम र १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति बगाएको छ। गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित ठाउँमा सारिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार