रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। बाढीका कारण जिल्लाका विभिन्न निजी विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी र २०१ जना अभिभावक बेपत्ता भएका छन्। सयौँ बालबालिकाले आफ्ना अभिभावक गुमाएपछि उनीहरूको भविष्य अन्योलमा परेको छ भने विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अनुसार गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कूलका १० जना र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ जना विद्यार्थी बेपत्ता भएका छन्। यसैगरी, बाढीले गर्दा २०१ जना अभिभावक पनि सम्पर्कविहीन छन्। प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६ जना, हाइल्याण्ड आवासीय माविका ४२ जना, नमूना एभरग्रिनका ४१ जना, मोडर्न ट्रिनिटीका ३३ जना, ग्रीनगार्डनका २५ जना, नर्थपोलका नौ जना र हिमालयनका पाँच जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन्।
आफ्ना आमाबुबा तथा अभिभावक गुमाएका बालबालिका आश्रय र संरक्षणको अभावमा गम्भीर मानसिक तथा भौतिक सङ्कटमा परेका छन्। बाढीले विभिन्न भौतिक संरचनाहरूसँगै शैक्षिक संस्थामा पनि क्षति पुर्याएको छ। मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका पनि बाढीमा बेपत्ता भएको जनाइएको छ।
प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाले विद्यालय छात्रावासमा रहेका अभिभावकविहीन विद्यार्थीको खानपानको व्यवस्था मिलाइएको र तत्काल विद्यालय सञ्चालनका लागि आवश्यक खाद्यान्न तथा सामग्री उपलब्ध गराइएको बताएका छन्।
जिल्लाका सात संस्थागत विद्यालयमध्ये पाँच वटा पुनः सञ्चालनमा आइसकेका छन्। ठूलो क्षति बेहोरेका दुई विद्यालय पनि केही समयमै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्याब्सन रसुवाले प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न थप सहयोगका लागि सबैमा अपिल गरेको छ। केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढी प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन पहल भइरहेको छ।
