मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भोटेकोशी बाढी: ३७ काभ्रेली अझै सम्पर्कविहीन, तीनको कुशको शवबाट अन्त्येष्टि

भोटेकोशी नदीको बाढीमा बेपत्ता भएका काभ्रेका ३७ नागरिक तीन सातापछि पनि सम्पर्कविहीन छन्। परिवारले जीवितै भेटिने आशा त्यागेर तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। स्थानीय प्रशासनले खोजी र समन्वयको पहल गरिरहेको छ।
Maya Thapa
Maya Thapa
19 September 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी काभ्रे
Share:

तीन साताअघि भोटेकोशी नदीमा आएको बाढीले बगाएका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन छन्। लामो समयसम्म अत्तोपत्तो नलागेपछि परिवारजनले जीवितै भेटिने आशा त्यागेर तीन जनाको कुशको शव बनाई परम्पराअनुसार अन्त्येष्टि गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार, बाढीमा ज्यान गुमाएका पाँचखाल-६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी-९ का शङ्खबुद्ध तामाङको शव यसअघि नै फेला परिसकेको थियो।

कुशको शव बनाएर दाहसंस्कार गरिएकामा पाँचखाल नगरपालिका-११ का राजकुमार गौतम, बनेपा नगरपालिका-१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरी रहेका छन्।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले समन्वय र पहल गरिरहेको बताए। जिल्लास्थित आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका यी ३७ जना नागरिक हालसम्म परिवार वा प्रशासनको सम्पर्कमा आउन सकेका छैनन्।

केन्द्रका अनुसार चौँरी देउराली गाउँपालिका-५ का हेमन्त चौलागाईं, प्रतीक गौतम, वडा नं ७ की सम्झना मोक्तान र वडा नं-२ घर भई कलङ्की बस्ने राजेन्द्र प्रधान बेपत्ता छन्।

त्यसैगरी, पनौती-५ का दिनेश श्रेष्ठ, वडा नं-३ का अच्युतम सापकोटा र वडा नं-९ का अर्जुन खत्री केसीको अवस्था अज्ञात छ। बनेपा-९ का उद्धव सापकोटा, वडा नं-८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री र वडा नं १३ की प्रकृति डङ्गोल पनि सम्पर्कविहीन छन्।

पाँचखाल-११ का मिलन खरेल, वडा नं-३ का ज्ञानेन्द्रलाल श्रेष्ठ हराइरहेका छन्। भुम्लु-१ का महेश पन्त, मिलन श्रेष्ठ, प्रकाश श्रेष्ठ, वडा नं-५ का राजकुमार रिजाल र वडा नं-८ का सुवास तामाङको खोजी भइरहेको छ।

बाढीपछि बेथानचोक-४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ बेपत्ता छन्। तेमाल-७ का विशाल तामाङ, वडा नं-८ का गणेश लामा, वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ अझै सम्पर्कमा आएका छैनन्।

मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल-२ का सङ्गम चौलागाईं, सुकुमान तामाङ, वडा नं-३ का मनिक भुजेल र वडा नं-८ का महेश तामाङ पनि हालसम्म सम्पर्कविहीन अवस्थामा रहेको केन्द्रले जनाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार