धादिङको कृष्णभीरमा पुनः पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट ठूला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि यातायात ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार, गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भित्ता कटान गर्दा कृष्णभीरमा पहिरो गएको थियो। २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि असोज १ गतेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो। पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।
धादिङ प्रहरीका अनुसार, पहिरो पन्छाउने काम भइरहेको छ। तर, निरन्तर वर्षाले समस्या थपेको छ। गत भदौमा सडक भासिएपछि डाइभर्सन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो।
पहिरोकै कारण कान्ति लोकपथसमेत अवरुद्ध छ। काठमाडौं–हेटौंडा आवतजावत बन्द भएको छ। कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
स्थानीयका अनुसार, भोटेकोशीको बाढीले सडक भत्काएपछि अस्थायी रूपमा बनाइएको ठाउँमा पहिरो खसेको हो। सडक विभागले कृष्णभीरमा कटिङ गरेर अस्थायी बाटो तयार पारेको थियो। कटिङ गरिएको स्थानमा पानी पर्दा पहिरो आउने जोखिम देखिएको थियो।
स्थानीय प्रशासनले राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। पहिरोको थप जोखिमले रातिको समयमा पन्छाउने काम सुरु हुन सकेको छैन।
