सङ्खुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर पहिरोको उच्च जोखिममा छ। पहिरोले घरमाथिबाट जोखिम बढाएपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले सोही जानकारी दिए। चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खस्दा पाँचखपन–चैनपुर सडकखण्डमा यातायात सेवा ठप्प छ। सिलिचोङ गाउँपालिका–२ को बाला माध्यमिक विद्यालय भवन पनि पहिरोको चपेटामा छ। जिल्ला प्रशासन कार्यालयले अरुण, वरुण, हेवा र सभा खोलाको जलसतह बढेकाले सतर्क रहन अनुरोध गरेको छ।
सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको दुई बिघामा लगाएको उखुबारीमा वर्षा र हावाहुरीले क्षति पुर्याएको छ। उखुका बोटहरू ढलेपछि उत्पादन घट्ने र चार लाख रुपैयाँको लगानीसमेत नउठ्ने चिन्तामा यादव छन्।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा खोला तथा नदीमा बाढी आएको छ। बस्ती डुबानमा परेका छन्। सडक आवागमन ठप्प छ। भिजिबिलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन। आन्तरिक र बाह्य उडानहरू रद्द गरिएका छन्। कोसी ब्यारेजका ३५ ढोका खोलिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा २४५.८ मिलिमिटर, गैंडाकोटमा १८६.६ मिलिमिटर र अर्घाखाँचीमा १६१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। अर्चलेमा पछिल्लो ६ घन्टामै ११२.२ मिलिमिटर पानी परेको छ। यसले पहाडी जिल्लामा पहिरो र गेग्रान बग्ने तथा तराईका नदी आसपास डुबानको खतरा बढाएको छ।
लुम्बिनी प्रदेशमा १५ हजारभन्दा बढी घरधुरी, कर्णालीमा ८ हजार ३६० भन्दा बढी घरधुरी र सुदूरपश्चिममा करिब १० हजार घरधुरी गरी ३३ हजारभन्दा बढी घरधुरी मनसुनी विपद्को उच्च जोखिममा रहेको प्रारम्भिक तथ्यांक छ। तीनै प्रदेशमा सडक सम्पर्क विच्छेद, उद्धारमा कठिनाइ र राहत सामग्रीको पहुँचजस्ता साझा चुनौती छन्।
भारी वर्षाका कारण पश्चिम नेपालका स्थानीय तहले विद्यालय बन्द गरेका छन्। बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका होचा क्षेत्रमा डुबानको जोखिम छ। पहाडी जिल्लामा सडक अवरोधले दैनिक आवतजावत प्रभावित भएको छ। तीनै प्रदेशका विपद् व्यवस्थापन संयन्त्र सक्रिय पारिएका छन्।
सुदूरपश्चिमबाट चल्ने लामो दूरीका रात्रीबसहरू मौसम सुधार नहुँदासम्मका लागि रोकिएका छन्। सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौं र पोखराका लागि दुई दिन बस सेवा रोकेको छ। महाकाली यातायातले पनि काठमाडौं र पोखरातर्फ जाने रात्रीबस रोकेको छ।
कर्णाली प्रदेशभर सवारीसाधनको आवागमन रोकिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधन आवागमनमा रोक लगाउने निर्णय गरेसँगै प्रहरीले दैलेख, कालिकोटलगायत जिल्लाबाट वीरेन्द्रनगर आउने गाडी होल्ड गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले अति आवश्यक परेमा जिल्लाभित्र फाटफुट सवारीसाधन चल्न दिइएको बताए।
जुम्लाको चन्दननाथ नगरपालिका–८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका छ गोठाला सम्पर्कमा आएका छन्। उनीहरू बिहीबार रातिदेखि सम्पर्कविहीन थिए। तर, उनीहरूसँग रहेका करिब पाँच सय भेडाको अवस्था अझै अज्ञात छ। पाटनमा लगातार हिउँ परिरहेको छ र चिसो बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार टोली परिचालन गरेको छ।
इलाममा जोगमाई खोलामा बाढी आउँदा मेची राजमार्गको राजदुवालीको वैकल्पिक मानिएको सिमलगोलाई–तिल्केनी सडकको जोगमाईस्थित डाइभर्सन गएरातिको बाढीले क्षति गरेको छ। यसले गर्दा झापादेखि इलाम आउने र जाने ठूला सवारीसाधन बन्द भएका छन्।
