वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर बुझाउन सहज होस् भन्ने उद्देश्यले अब सम्बन्धित वडा कार्यालयबाटै कर सङ्कलन गर्ने व्यवस्था लागू गरेको छ।
महानगरपालिकाले जारी गरेको सूचना अनुसार, २०८३ असोज १२ गतेदेखि सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्कलन गरिनेछ।
यो व्यवस्थाले नगरवासीलाई घरदैलो नजिकैबाट सहज सेवा उपलब्ध गराउनेछ। यसअघि मालपोत कर बुझाउन महानगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने बाध्यता थियो, जुन अब हट्नेछ।
महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर सङ्कलनको व्यवस्था मिलाइएको बताए।
उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरू नगरवासीको घरदैलो नजिक पुर्याउने र सेवा लिन लाग्ने समय तथा खर्च बचत गर्नेतर्फ महानगरपालिका निरन्तर लागिपरेको बताए।
अब नगरवासीले आफ्नै वडा कार्यालयबाट मालपोत कर बुझाउन सक्नेछन्। कर सङ्कलनका लागि आवश्यक व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन आग्रह गरिएको छ।
