मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

९ लाख घुस लिँदै गर्दा नापी अधिकृत रंगेहात पक्राउ

नापी कार्यालय डिल्लीबजारका अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्। उनलाई टोखा नगरपालिकाको बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। छूट जग्गा दर्ता सिफारिसको मिसिल पठाइदिन सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ।
Arjun Basnet
Arjun Basnet
17 September 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
नापी अधिकृत घुस
Share:

सेवाग्राहीसँग नौ लाख रुपैयाँ घुस लिँदै गर्दा नापी कार्यालय डिल्लीबजारका अधिकृत डिल्लीबहादुर वली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। टोखा नगरपालिका वडा नं-५, बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट वलीलाई रंगेहात पक्राउ गरिएको हो।

नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीमाथि छूट जग्गा दर्ता सिफारिसको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु पठाउन सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र सास्ती दिँदै घुस मागिरहेको सूचना आयोगमा पुगेको थियो।

सूचना र उजुरीका आधारमा अख्तियारको टङ्गाल कार्यालयबाट खटिएको विशेष टोलीले वलीलाई नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नगद रकमसहित पक्राउ गरेको हो।

विशेष अदालतबाट म्याद थप आदेश प्राप्त गरेपश्चात् वलीमाथि भ्रष्टाचार मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार