सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनामा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको निष्कर्षसहित दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित आठ सुरक्षा अधिकारीलाई कारबाही गर्न सिफारिस गरिएको छ। करिब एक महिनाअघि गृहमन्त्रीलाई बुझाइएको प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीचको झडपमा परी तीन जनाको मृत्यु भएको थियो। साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भयो। सरकारले दुवै घटनाका मृतकलाई सहिद घोषणा गरेको छ।
कप्तानगञ्ज घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको थियो। छानबिन समितिको निष्कर्षअनुसार तीनै जनाको मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको हो।
कप्तानगञ्ज घटनाको छानबिन सहसचिव भूपेन्द्र थापा र गोलबजार घटनाको छानबिन सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गरेको थियो। दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन्।
समितिले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाही गर्न सिफारिस गरेको छ। पौडेललाई घटनापछि सरुवा गरिएको थियो।
कप्तानगञ्ज घटनामा सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ।
यस्तै, सिरहाका तत्कालीन सिडिओ सुरेन्द्र पौडेल, एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई पनि कारबाही गर्न भनिएको छ। इन्स्पेक्टर केसीलाई घटनापछि सरुवा गरिएको छ।
समितिले कारबाहीको प्रकृति भने तोकेको छैन, तर ‘विभागीय कारबाही’ गर्न सुझाव दिएको छ।
सिरहामा प्रहरीले ७ राउण्ड हवाई फायर र २ राउण्ड गोली प्रदर्शनकारीतर्फ चलाएको प्रतिवेदनमा उल्लेख छ। कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको देखिएको छ। कप्तानगञ्जमा कुल २० राउण्ड गोली चलेको भेटिएको थियो।
इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ कप्तानगञ्जमा खटिएका थिए। भीडले चिर्पट, ढुङ्गा, बाँस र लाठीले आक्रमण गरेपछि सशस्त्र प्रहरी परिचालन गरिएको थियो। इन्स्पेक्टर राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीले पनि गोली चलाउँदा मानवीय क्षति भएको छानबिनको निष्कर्ष छ।
गोलबजारमा भने सशस्त्र प्रहरीले गोली चलाएको नदेखिएको प्रतिवेदनमा छ। गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ। प्रहरीका इन्स्पेक्टर सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको भेटिएको छ।
दुवै जिल्लामा झडप हुँदा भीडबाट पनि गोली चलेको हल्ला चले पनि छानबिन समितिले सुरक्षाकर्मी बाहेक अन्यत्रबाट गोली चलेको नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ।
